नेपालगञ्ज : प्लान ईन्टरनेशनल नेपालले बाँकेमा सञ्चालन गरेका विभिन्न परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिद्वारा परियोजनाका बारेमा सर्वपक्षिय छलफल गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेका निमित्त प्रमुख सिता कार्कीको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न परियोजना सल्लाहकार समितिको बैठकमा बाँकेको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक विकासलगायतका क्षेत्रमा पुराएको योगदानको बारेमा विषेश चर्चा गरिएको थियो ।
बाँकेमा प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, साथी संस्था लगायतको सहकार्यमा बाँकेको खजुरा बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपािलकामा बाल केन्द्रित सामुदायिक विकास परियोजना दोस्रो फेज अन्तरगतको रोकथाम, पहिचान, शिक्षा र रुपान्त्रण परियोजना सञ्चालन गर्दै आएको छ । सो परियोजना मानव बेचविखन बिरुद्ध रोकथामका लागि प्रोटेक्ट परियोजना सञ्चालन गरेको थियो ।
शुक्रबार नेपालगञ्जमा आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय प्रबन्धक मिना पराजुलीले प्लानले विगत २८ वर्षदेखि बाँकेमा विभिन्न स्थानीय गैसस मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा बाँकेमा सञ्चालनमा रहेका सबै कार्यक्रम फेज आउट हुने चरणमा पुगेको जानकारी दिईन ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य सन्तराम चौधरी, जिल्ला समन्वय निमित्त अधिकारी रेखा श्रेष्ठ, शिक्षा समन्वय तथा विकास ईकाईका रामसुरेश यादव, कोहलपुर नगरपालिकाका ईश्वरी विक, नेपालगञ्ज उपमहानगर मञ्जु पाण्डेलगायतले प्लानको सहयोगमा सञ्चालनमा रहेका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।
सो अवसरमा प्लान नेपालका स्पाेन्सरसिप अधिकृत जनकराज गिरी, कार्यक्रम अधिकृत सन्तोष पुलामीले प्लान ईन्टरनेशनल नेपालले बाँकेमा गरेका विभिन्न गतिविधिको बारेमा प्रस्तुती गरेका थिए ।