नेपालगञ्ज : बाँकेमा भेटिएका विज्ञान कोइराला २० वर्षपछि घर गएका छन् । यही चैत २४ गते बाँकेको नेपालगञ्जमा आफ्नो गाउँ खोज्दै भौतारिएका विज्ञानलाई मंगलवार प्रहरीको रोहवरमा घर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको घर खोटाङको जन्तेढुङगा गाउँपालिका वडा नं. ५ रहेको छ । तर उनको परिवार अहिले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरपुर बस्दै आएको छ ।
३४ वर्षीय विज्ञानलाई उनका भाई सुवास कोईरालाको जिम्मा लगाई उदयपुर घर पठाइएको प्रहरीले जनाएको छ । विज्ञानको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जमा रहेको निलसागर असाहय, अशक्त तथा जेष्ट नागरिक सेवा केन्द्रमा राखी उपचार तथा हेरचाह गरिएको थियो । स्वास्थ्यमा थप सुधार आएपछि उनलाई घर पठाइएको प्रहरीले मंगलवार गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
यसैबीच विज्ञान २४ गते नेपालगञ्ज स्थित पत्रिकाको कार्यालयमा आफू हराएको र घर खोजिदिन भन्दै पुगेका थिए । सोही समयमा विज्ञानले पत्रिकासँगको कुराकानीमा आफूलाई काठमाडौंमा २४ वर्षदेखि एउटै कोठमा बन्धक बनाएर यौन शोषण गरेको बताएका थिए । यौन शोषण गर्नेहरु विदेशी हुन या नेपाली उनलाई थाहा नभएपनि विज्ञानको भनाईबाट विदेशी भएको आशंका गरिएको छ ।
परिचय सोध्दा उनले आफ्नो नामसमेत अनकनाएर भन्न गरेको पत्रिकाले लेखेको थियो । उक्त समयमा उनले आफ्नो आमाबुबाको नाम र ठेगाना समेत विर्सिएको बताएका छन् । उनले बन्धक बनाएको समयमा पेट चक्कुले चिर्नेदेखि चुरोटको ठुटाले खुट्टा पोल्नेसम्मको याताना दिएको बताएका थिए ।