बर्दियाको नरभक्षी पाटेबाघ नियन्त्रणमा

सदरलाइन संवाददाता ५ चैत्र २०७७, बिहीबार १३:५५
 

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएको छ ।

केही समयदेखि दिनहुँ जसो गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्र आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरि ज्यान लिने पाटे बाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जको तीन वटा हात्ती र प्राविधिकसहितको टोलीले गेरुवा क्षेत्रबाट बाघलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको भाले बाघ बुढो रहेको, खुट्टामा चोट रहेको र केही दाँत समेत झरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।


मंगलबार दिउँसो एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिए लगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । पछिल्लो सयम निरन्तर पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसंगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो । यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे मार्न पल्किएको एउटा बाघ निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ ।

पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैँसी चराउन तथा घाँस दाउरा लिन नजान आग्रह गरिरहेको छ ।

Next Post

दोस्रो चरणको खोप अभियानमा बाँकेमा ८१ प्रतिशत सहभागी

५ चैत्र २०७७, बिहीबार १३:५५
नेपालगञ्ज : दोस्रो चरणको कोरोना खोपअन्तर्गत बाँकेमा सञ्चालन भएको कोरोनाविरुद्धको खोप अभियानमा ८१ प्रतिशतले सहभागिता जनाएका छन् । ६५ बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि संचालन भएको उक्त अभियानमा कुल २५ हजार सात सय ८९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । ति मध्य २० हजार सात सय ८६ जनाले […]