दोस्रो चरणको खोप अभियानमा बाँकेमा ८१ प्रतिशत सहभागी

सदरलाइन संवाददाता ५ चैत्र २०७७, बिहीबार १४:१५
 

नेपालगञ्ज : दोस्रो चरणको कोरोना खोपअन्तर्गत बाँकेमा सञ्चालन भएको कोरोनाविरुद्धको खोप अभियानमा ८१ प्रतिशतले सहभागिता जनाएका छन् । ६५ बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि संचालन भएको उक्त अभियानमा कुल २५ हजार सात सय ८९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । ति मध्य २० हजार सात सय ८६ जनाले खोप लगाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बाँकेमा पहिलो र दोस्रो गरि हालसम्म ३० हजार ६ सय १९ जनाले खोप लगाएका छन् । उनले अघिल्लो पटकको खोप अभियानमा ९ हजार आठ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको बताए । बाँकेमा पछिल्लो खोप अभियानमा दुई हजार एक सय ३८ भायल खोप खर्च भएको उनले बताए । ‘बाँकेका शतप्रतिशतले खोप नलगाए पनि प्रतिशतलाई हेर्दा सन्तोषजनक मान्नु पर्छ,’ उनले भने ।

स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्य चौकी मार्फत कोरोना विरुद्धको खोप दिइएको थियो । बाँकेका आठ वटा स्थानीय तह मध्य सवैभन्दा धेरै बैजनाथ गाउँपालिकाका जेष्ठ नागरिकले सेवा लिएका छन् । बैजनाथका ९२ प्रतिशतले खोप लगाएको कोरोना फोकल पर्सन ओलीले बताए । कुल तीन हजार एक सय २१ जनालाई खोप लगाउने लक्ष्य गरिएकोमा दुई हजार आठ सय ६९ जनाले खोप लगाएको उनले बताए ।


त्यसैगरि, कोहलपुर नगरपालिकाका ८७, राप्तीसोनारी गाउँपालिकाका ८५, जानकी गाउँपालिकाका ८१ र नेपालगन्ज उपमहानगरपालिकाका ६५ बर्ष माथिका ७९ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । बाँकेमा सवैभन्दा कम डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकले खोप लिएका छन् । डुडुवाका ६६ प्रतिशतले मात्र खोप लिएको तथ्यांक छ ।

कोरोना फोकल पर्सन ओलीका अनुसार, नरैनापुरका ७६ र खजुरा गाउँपालिकाका ७७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । ‘खोपको बारेमा गलत प्रचार प्रसार भएकोले कुनै कुनै पालिकामा खोप लगाउनेको संख्या कम देखिएको हो,’ उनले भने ।

Next Post

धम्बोझी र त्रिवेणीको जित

५ चैत्र २०७७, बिहीबार १४:१५
नेपालगञ्ज :  नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ को बिहीबारको खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ विजयी भएका छन् । बिहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा त्रिवेणीले […]