२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार
एन्फा प्रेसिडेन्ट लिग–२०७७

सुदुरपश्चिमको स्टारसिटीको कब्जामा उपाधि, घरेलुटिम लुम्बिनीको धम्बोझी क्लव भयो दोस्रो




नेपालगञ्ज  : एन्फा प्रेसिडेन्ट लिग– २०७७ को उपाधि माथि सुदुरपश्चिमको स्टारसिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दैे कब्जा जमाउदा घरेलु टिम लुम्बिनी प्रदेशको धम्बोझी क्लव दोस्रो स्थानमा आएको छ ।

नेपालगञ्ज रंगशालामा जारी आइतबार भएको अन्तिम खेलमा स्टारसिटीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ ।

आइतबारको नतिजासँगै स्टार सिटी १६ अंक सहित शिर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंक सहित दोस्रो, मनकामना युवा क्लब रौतहट तेस्रो र त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन ।

च्याम्पियन बनेको स्टारसिटीले १० लाख, दोस्रो धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त ग¥यो ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट रक्षक स्टारका धन राज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए । उनीहरुले समान रुपमा जनही २५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुपबहादुर विष्ट घोषित भए । उनले नगद रु ५० हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घबहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा, उपाध्यक्ष अजित राज भण्डारी, सुर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कृत गरे ।

गत चैत २ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष चार टिम र सहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन ।

प्रकाशित मिति : २०७७ चैत १५ गते आइतबार
ताजा समाचार