सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको चारै किल्ला शील गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगञ्जलाई भोली शनिवारदेखि शील गर्न लागेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले साउन २४ गते राती १२ बजेदेखि श्रावण २७ गते राती १२ बजेसम्मकालागि नेपालगञ्जका उपमहानगरका चारै किल्ला शील गर्ने निर्णय गरेको हो ।
सो अवधिमा नेपालगञ्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबाहन र दमकलबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाईएको छ । साथै हिँडडुल तथा ब्यवसाय सञ्चालनमा समेत पूर्णतयः निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रशासन कार्यालयका अनुसार नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्णरुपमा शील गर्न लागिएको हो ।