सदरलाइनडटकम,
नेपालगञ्ज : धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा चलिरहेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा युनाइटेड एजुकेशनल र ब्रिज इन्टरनेशनल स्कूल विजयी भएका छन् ।
बुधवार भएको पहिलो खेलमा युनाइटेडले दीपज्योति विद्याश्रमलाई ३–२ गोलले पराजित गर्यो । युनाइटेड स्कूलबाट सुशान्त थापा, प्रेमबहादुर सुनार र विकास बस्नेतले गोल गरेका थिए । दिपज्योतिबाट ईश्वर श्रेष्ठ र बुद्धि बस्नेतले एक/एक गोल गरे । खेलमा शुरुदेखि नै युनाइटेडले दबाबमा राखेको थियो । मध्यान्तरसम्ममा ३–१ गोलले युनाइटेड अगाडि थियो । मध्यान्तरपछि दिपज्योतिले एक गोल गरेको थियो ।
दोस्रो खेलमा ब्रिज इन्टरनेशनलले सनविम स्कूललाई सजिलै हरायो । ब्रिजले सनबिमलाई ५–१ गोलले पराजित गरेको थियो । ब्रिजले मध्यान्तर अघि नै तीन गोलको अग्रता लिएको थियो । त्यसपछि पनि दुई गोल थप्यो । सनबिमले एक गोल फर्काउन सफल भयो । ब्रिजका तर्फबाट अरुण कार्की र सन्जीत गिरीले दुई/दुई तथा केन्द्र विसीले एक गोल गरेका थिए ।
सनबिमका तर्फबाट विकास गौचनले एक गोल गरे । यो खेलमा दुई जनाले पहेलो कार्ड पाए । ब्रिजका चेनबहादुर वली र सनबिमका पुरन विष्टले पहेलो कार्ड पाएका थिए । एक कार्ड बराबर दुई सय रुपैयाँ जरिवाना लिने गरिएको छ । बाँके जिल्ला फुटबल संघले नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मेयर कप अन्तर मावि/उमावि छात्र फुटबल प्रतियोगिता गराइरहेको छ ।
धम्बोझीस्थित ग्रासरुट मैदानमा खेल भइरहेको छ । सानो मैदान भएकाले ९÷९ जना खेलाडी सहभागी हुने गरेका छन् । पहिलो चरणको अन्तिम खेल बिहीबार होप इन्टरनेशनल र बाल विद्या मन्दिर तथा बाँके शिक्षा र अमर माविका बीचमा हुने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिएका छन् ।