सदरलाइनडटकम,
नेपालगञ्ज : केही साता अघि भदौ एक गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरेको छ ।
मंगलवारको मन्त्रिपरिषद्को निर्णय बुधवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिए ।
‘शैक्षिक संस्था तथा पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ ।’ पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने, ‘समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको छ ।’
सरकारले यसअघि सबै शिक्षकलाई भदौं एक गते अगाडि नै विद्यालयमा पुग्न निर्देशन दिएको थियो । जोखिम बढ्दै गएपछि सरकारले सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।


