सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना भाइरसको संक्रमण भएकी भारतीय एक मन्त्रीको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो । उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो ।
मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गरेका छन् । उनले आइतवार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन् । कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन् ।
उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन् । यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन् ।


