सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउको बाहानामा बाँकेमा मासु जन्य पदार्थमा चरम मूल्य बृद्धि गरेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यलय बाँकेको पहलमा मासुको मुल्य कायम गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्ने सहमती भएको हो ।
बाँकेमा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको कारण गरीएको लकडाउनको बाहाना बनाउदै मासु व्यावसायीले खसिको मासु प्रति किलो १ हजार र कुखुराको मासु प्रतिकिलो ४ सय ५० मा बिक्रि बितरण गरेको व्यापक जनगुनासो आएपछि प्रशासनले पुरानै मुल्यमा विक्रिबितरण गर्ने गरी सहमति जुटाएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार पशुपन्छि व्यावसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी, पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति निर्माण गरिएको छ ।
सो अध्ययन समितिले मुल्यको बारेमा अध्ययन प्रतिबेदन नबुझाउदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्नु पर्ने छ । सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने सहमती समेत भएको छ ।