अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न नेपालगञ्ज र कोहलपुर सहमत

९ चैत्र २०७६, आईतवार १९:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बिश्वव्यापी फैलिएको कोरोना संक्रमण रोक्नको लागि विभिन्न स्थानीय तहले आ–आफ्नो तयारी तीब्र पारेका छन् । यसक्रममा बाँकेको नेपालगञ्ज उपमहानगरले नेपालगञ्जका व्यावसाय बन्द गर्न आव्हान गरेको छ भने कोहलपुरले पनि नगरक्षेत्रलाई कोरोनाको संक्रमणबाट जोगाउन सोमबारदेखि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरमा शनिबारको बैठकले अत्यावश्यक सेवाका बाहेक अन्य सेवाका कार्यालय, उद्योग कलकारखाना र व्यवसाय बन्द गर्न निर्णय गरेको थियो भने आईतबार कोहलपुर नगरपालिकाको समन्वयमा बसेको सर्वपक्षिय बैठकले कोहलपुरलाई लकडाउन गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई रोक्न सोमबारदेखि आगमी एक महिना कोहलपुरलाई लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख रावतले बताए ।

लक डाउन अवधि भर कोहलपुर नगरक्षेत्रभित्रका सम्पूर्ण पसल ब्यवसाय बन्द हुने भएका छन । नगरवासीको सुविधाका लागि हरेक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म खाद्यान्नका पसलहरु भने संचालन गरीने भएको छ । यस बाहेक मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु पनि संचालनमा आउने छन ।

नगरपालिकाले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । यद्यपी लकडाउनको समयमा छोटो दुरीका सवारी साधन संचालनमा आउने भएका छन ।


कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको विपद ब्यवस्थापन समितिको बैठकमा नगर स्वास्थ्य शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, मेडिकल कलेजका प्रतिनिधि, ईलाका प्रशासन कार्यालयका प्रमुख तथा ईप्रका कोहलपुरका प्रमुख लगायत सहभागी भएका थिए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यक सेवा बाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । आईतवार बसेको संघको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तु तथा सेवाको काम बाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी बिश्वभर फैलिएको कोरोना संक्रमण बिरुद्धको अभियानमा साथ र सहयोग गरिदिनु हुन अपील गर्ने गरेको हो ।

संघले अध्यक्षको संयोजकत्वमा पदाधिकारी र प्रवक्ता सहित रहने गरी बिपतकालिन राहात कोष परिचालन समितिलाई प्रभावकारी बनाउन कार्यान्वयन परिचालन समिति गठन गर्ने र उक्त राहात कोषमा आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गर्ने निर्णय गरेको छ ।

Next Post

लयान्स डेन्टल अस्पतालमा बाँकेमा ४० बेडको आईसोलेसन अस्पताल

९ चैत्र २०७६, आईतवार १९:४९
सदरलाइनडटकम, नेपालगञ्ज  :  विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जमा ४० बेडको आईसोलेसन तयार पारीएको छ । लायन्स डेन्टल अस्पताल खजुरारोडको माथिल्लो तलमा ३–३ फिटमा बेड राखेर आईसोलेसन अस्पताल तयार पारीएको हो । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्टिक गभर्नर सेम शाक्यले कोरोना भईरसको संक्रमण फैलिन […]