बाँकेमा जोगागाउँ र गुरुवागाउँमा मंगलवारदेखि मेला शुरु

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १३:२१
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला मंगलवारदेखि शुरु भएका छन् । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ ।

मंगलवारदेखि शुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए । उनका अनुसार पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् ।

मेलाका क्रममा सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए । गुरुवागाउँ मेलामा हुने भेडा जुधाइ प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको छ ।


यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ टिकुलीपुरमा सोमबारदेखि तीनदिने डिग्रे मेला सुरु भएको छ । सिद्ध साइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको छ ।

यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लाग्ने गरेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कारागारबाटै चुनाव लड्दै बाँके २ की उम्मेदवार विद्या

२२ कार्तिक २०७९, मंगलवार १३:२१
  नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै छिन् । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगञ्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो । राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात […]