धनधान्यकी देवी लक्ष्मीको आज पूजाआजा गरिँदै

सदरलाइन संवाददाता १८ कार्तिक २०७८, बिहीबार १४:१९
 

नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीवार लक्ष्मी पुजा गरिंदैछ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक पूजा गरिन्छ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने हिन्दु शास्त्रीय मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भन्ने गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने प्रचलन छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।


दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मीको स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्याहरुलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास रहेको छ ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्ने चलन पनि छ । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि प्रा डा रामचन्द्र गौतमले बताए ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहारसँगै नेपालगञ्जमा मिठाइको कारोबारमा बृद्धि

१८ कार्तिक २०७८, बिहीबार १४:१९
नेपालगञ्ज : तिहार आएसँगै नेपालगञ्जमा मिठाइको कारोबार बढेको छ । गत वर्ष कोरोना महामारीका कारण खासै व्यापार नभए पनि यस वर्ष भने व्यापार बढेको व्यापारीहरु बताउँछन् । ग्राहकको माग धान्न नसकेर यसअघि भारतबाट समेत मिठाई भित्र्याउने व्यापारीहरुले अहिले भने आफैले उत्पादन गर्न थालेका छन् । नेपालगन्ज त्रिभुवन चोकमा द केक […]