सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा कर्नाटकको पेड्डा गोलकुण्डामा ट्रक र भ्यान आपसमा ठोक्किँदा सात जना मजदूरको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना शुक्रवार राति शहरभन्दा केही टाढा भएको थियो । उनीहरु लक डाउन भएपछि घर फर्किरहेका थिए ।
दुर्घटनामा ज्यान गुमाउनेमा दुई बच्चा पनि रहेका छन् । स्थानीय प्रहरीका अनुसार भ्यानमा ३१ जना मजदूर सवार थिए । दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । चार जनाको अहिले पनि उपचार भइरहेको र जसमध्ये एकजनाको अवस्था नाजुक रहेको बीबीसी हिन्दीले जनाएको छ ।
उनीहरु एक सडक परियोजनामा काम गरिरहेका थिए । कोरोनाको जोखिम बढ्दै गएपछि भारत सरकारले २१ दिनको लागि लक डाउनको घोषणा गरेपछि उनीहरु आफ्नो घर कर्नाटकको रायचुर फर्किरहेको अवस्थामा दुर्घटनामा परेका हुन् ।


