सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको समस्या जटिल बन्दै गएपछि बाँकेका अधिकारकर्मीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको पहलमा अध्यक्ष विश्वजित तिवारी नेतृत्वको टोलीले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाका नागरिकलाई सरक्षाको अनुभुति दिन, नागरिकको स्वस्थ भई बाँच्न पाउने अधिकार सुनिश्ति गर्न गराउनका लागि ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमा नेपाल भारत सिमा नाका, बसपार्क, एयरपोर्ट जस्ता बाहिरबाट आवागमन हुने सार्वजनिक स्थानमा समेत आवश्यक स्वास्थ्यकर्मी खटाई जीउ ज्यान सुरक्षाका लागि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले यसप्रति आफु सचेत रहेको र जिल्लामा त्यस्तो समस्या आउन नदिन उच्च सर्तकता अपनाउने प्रतिबद्धता जनाए ।


