सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दू धर्मावलम्बीले शुक्रवार बाँकेसहित देशैभर महाशिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान शिवको पूजा, आराधना गरेर शिवारात्रि पर्व मनाईंदै छ ।
हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिरहेका छन् । शुक्रवार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनहरुको ठुलो भिड लागेको छ ।


