२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

खजुरामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना



सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्रका सबै जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वडा नं. ४ को ई गाउँ चौकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिँदै आएका थिए । अब आधारभूत सेवा यसै केन्द्रबाट प्राप्त गर्नेछन् ।
वडा नं. ४ का सेन्टरमा रहेको ई गाउँ चौकमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुराका सबै वडामा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी आधारभूत स्वास्थ्य केन्द्र रहेकोले जनतालाई आफ्नो पायक पर्ने स्थानमा पुगेर सेवा लिन आग्रह गरे ।
स्वास्थ्य, शिक्षा, खेलकुदलाई जोड्दै सेवा प्रदान गर्ने र खजुरालाई उल्लेखित कुराहरुको हब बनाउने उद्देश्यले अगाडि बढिरहेको उनले जानकारी दिए । अध्यक्ष कक्षपतिले केही मेशिन जडान गर्न बाँकी रहेको र कर्मचारीको दरबन्दी पूरा गरेर खजुराको क्यान्सर अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याउने, १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र स्थापना र हरेक वडामा स्वास्थ्य केन्द्रहरु रहेकाले खजुरा स्वास्थ्यको क्षेत्रमा अगाडि बढिरहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष एकमाया विकले स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रबाट पाउने सेवा प्राप्त गर्न स्थानीयलाई आग्रह गरिन् । उनले स्वास्थ्य केन्द्रको भवनका लागि टेण्डर भइसकेकाले भवन नबन्दासम्म हाल भाडामा स्थापना भएको ठाउँबाट सेवा दिइने बताइन् ।
वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले गाउँपालिकाले सबै वडालाई समानरुपमा विकासमा अगाडि बढाएको बताए । कार्यक्रममा स्वास्थ्य क्षेत्रका कर्मचारी खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मंगलबार
ताजा समाचार