सद्भाव र्यालीपछि सामान्य बन्दै कोहलपुर

२४ मंसिर २०७६, मंगलवार १८:३४
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : तनावग्रस्त बाँकेको कोहलपुर मंगलवारबाट सामान्य बन्दै गएको छ । ट्रकको ठक्करबाट स्थानीय त्रिभुवन नमुना मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थी र स्थानीय सडकमा उत्रिएका थिए । आइतवार र सोमवार कोहलपुर तनावग्रस्त बनेको थियो ।
विद्यार्थी र प्रहरीबीच आइतवार दिनभर दोहोर झडप भएको थियो । प्रहरीविरुद्ध विद्यार्थी र स्थानीय सडकमा उत्रिएर ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौ अश्रु ग्यास, हवाई फायर र रबरको गोली प्रहार गरेको थियो । यसबाट पनि विद्यार्थीको आन्दोलन नरोकिएपछि बाँके प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो ।
कोहलपुरको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले लगाएको निषेधित क्षेत्र हटाएको छ । सोमवार बेलुकी पीडित पक्ष र प्रशासनबीच ६ बुँदे सहमति भएसँगै कोहलपुरमा लगाइएको निषेधित क्षेत्र हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए ।
उनले कोहलपुरमा बिहान सद्भाव र्यालीसँगै निषेधित क्षेत्र हटाइएको बताए । प्रशासनले पूर्वमा रोहिणी खोला, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता चोक र दक्षिणमा पिपरी चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
यसैबीच, शान्ति र सद्भावका लागि मंगलवार बिहान कोहलपुरमा सद्भाव र्याली निकालिएको छ । प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक दल, उद्योगी, व्यवसायी, प्रहरी प्रमुख, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थीको सहभागितामा सद्भाव र्याली निकालिएको हो ।
सद्भाव र्यालीसँगै कोहलपुरको जनजिवन सामान्य बन्दै गएको छ । बजार खुलेका छन् भने, यातायातका साधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Next Post

रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

२४ मंसिर २०७६, मंगलवार १८:३४
सदरलाइनडटकम, काठमाण्डौ : १३औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन मंगलवार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन् । डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन् । उनीहरुले पक्रिसकेपछि […]