कोहलपुरमा अनिश्चितकालीन निषेधाज्ञा

२२ मंसिर २०७६, आईतवार १७:४१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि बाँकेको कोहलपुर क्षेत्रमा प्रशासनले निषेधाज्ञा लगाएको छ । ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् ।
सोही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतवार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगञ्ज–कोहलपुर सडक खण्डको पिपरी चोक, उत्तरमा नौबस्ता चोक, पूर्वमा रोहिणी खोला र पश्चिममा किरणखोलासम्म निषेधाज्ञा जारी गरिएको हो ।
कोहलपुरको त्रिभुवन उच्च माविनजिकै दुर्घटना भएपछि ट्रक जलाइएको थियो । दुर्घटनापछि आक्रोशित विद्यार्थीको समूहले ट्रक जलाएका थिए । आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर सडकमा कैयौँ गाडीमा तोडफोड गरेका छन् ।



तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ । प्रहरी र विद्यार्थीको झडपका क्रममा डिएसपीसहित २४ जना घाइते भएका छन् । तीनजनाको अवस्था गम्भीर छ । ट्रकले दुइटै खुट्टा किचिएकी बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिएन्डबी अस्पताल ललितपुर लगिएको छ ।
त्रिभुवन माविदेखि शुरु भएको तनाव कोहलपुर बजार चोकसम्मनै पुगिसकेको छ । प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन् । भीड तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको छ । तनाव बढेपछि बिहानैदेखि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगञ्जबाट प्रहरीको थप बल मगाइएको छ ।

Next Post

सुबेदीको थारु म्यूजिक भिडियो बजारमा आउँदै

२२ मंसिर २०७६, आईतवार १७:४१
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो समय म्यूजिक भिडियोमा जम्दै आएका नेपालगञ्ज निवासी नवराज सुबेदीको निर्देशनमा अर्को (हेल्का बुलाइलु गुलुवा मे) थारु भाषाको म्यूजिक भिडियोको छायाँकन सकिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकास्थित पर्यटकीयस्थलमा म्यूजिक भिडियोका छायाँकन सकिएको हो । थारु गीतमा जमेका मोडल देवदास र नव कलाकारका रुपमा नबिना थारु अभिनित सो […]