समृद्धिका लागि सरकार क्रियाशील छ : मन्त्री भट्टराई

७ मंसिर २०७६, शनिबार १४:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको शनिवार नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे ।
सरकारको नारालाई देश विदेशमा पुर्याउन नेपालगञ्ज म्याराथनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए । शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै उनले स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको जिकिर गरे । नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्नसक्ने विमानस्थल तयार गर्ने दावी गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणालगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताए ।
नेपालगञ्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७०० जनाभन्दा बढी सहभागि भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको शुरुआत गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजार, दोस्रोलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार प्रदान गरिने छ । नेपालगञ्जको वीपीचोकबाट शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ ।

Next Post

फडणवीस पुनः महाराष्ट्रको मुख्यमन्त्री

७ मंसिर २०७६, शनिबार १४:२०
सदरलाइनडटकम, काठमाण्डौ : भारतको महाराष्ट्रमा राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ । लामो रस्साकस्सीपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले शपथ लिएका छन् । एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका […]