फडणवीस पुनः महाराष्ट्रको मुख्यमन्त्री

७ मंसिर २०७६, शनिबार १४:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको महाराष्ट्रमा राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ । लामो रस्साकस्सीपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले शपथ लिएका छन् । एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् ।
एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो । तीन पार्टीबिच शनिवार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो । तर रातारात घटनाक्रम फेरियो र बिहानै देवेन्द्र फडणवीस र अजित पवारले मुम्बईको राजभवनमा शपथ लिएका हुन् ।
शिव सेनाका उद्धव ठाकेर मुख्यमन्त्री बन्ने संघारमा पुगेर एनसिपीले धोका दिँदा जिल्लिएका छन् । हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन । भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो । शपथ ग्रहणको केहीबेर पछि नै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर देवेन्द्र फडणवीस र अजित पवारलाई बधाई दिएका छन् ।
दुवै नेताले मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् । शपथपछि मुख्यमन्त्री फडणवीसले आफूहरुसँग मिलेर चुनाव लडेको शिव सेनाले जनादेशको अनादर गरेको बताए । महाराष्ट्रमा स्थायी सरकारको चाहना भएकाले एनसिपी आफूहरुको साथमा आएको उनले उल्लेख गरेका छन् । उपमुख्यमन्त्रीको शपथ लिएका अजित पवारले पनि महाराष्ट्रका समस्या समाधानका लागि स्थायी सरकार चाहिएको र त्यसकै लागि आफूहरुले भाजपासँग मिलेर सरकार बनाएको बताएका छन् । (एजेन्सी)

Next Post

क्विक्स कप खेल्न टोली काठमाण्डौ प्रस्थान

७ मंसिर २०७६, शनिबार १४:५३
सदरलाइनडटकम, दाङ : क्विक्स कप अन्तर बिद्यालयस्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता २०७६ मा भाग लिन गोरखा माबि तुलसिपुरको खेलाडी टोली काठमाण्डौ प्रस्थान गरेको छ । काठमाण्डौमा मंसिर ८ गतेबाट एन्फा कम्पलेक्स काठमाण्डौमा शुरु हुने प्रतियोगितामा भाग लिन सुरेश भण्डारीको नेतृत्वमा टिम व्यवस्थापक मोहन सुनार, टिम कोच दुर्गा राजलवटलगायतको २० सदस्यीय खेलाडी […]