जरायोलाई नियन्त्रणमा लिई निकुञ्ज पठाइयो

सदरलाइन संवाददाता १० मंसिर २०८०, आईतवार १२:५१
 

नेपालगञ्ज : नेपालगञ्ज बजारबाट वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगञ्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिए ।

शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा जरायो पाइएको पार्धेले बताए । बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ् टोलीलाई बोलाएर धेरै लामो प्रयासपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

“शनिबार बिहान ५ बजेको समयतिर कुकुरले लखेट्दै ल्याउँदा सो जरायो नेपालगन्ज १८ स्थित भाटभटेनी सुपर मार्केटको पूर्वपट्टिको खेतमा रहेको खाडलमा खसेको रहेछ, खाडलबाट भाग्न सकेन । स्थानीयले खबर गरेपछि वनको प्राविधिकसहितको टोली त्यहाँ पुग्यौं, नियन्त्रणमा लिन प्रयास ग¥यौं सकिएन ।,” उनले भने, “त्यसपछि अग्लो जाल लगाएर छेक्यौं र बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोलीलाई खबर ग¥यौं ।”


बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोली आइसकेपछि खाडलमै रहेको अवस्थामा ‘डार्ट’ प्रयोग गरेको र ‘डार्ट’ गरिसकेपछि जरायोले अग्लो बनाएर छेकेको जालसमेत उफ्रेर नाघेर सडकतिर भागेको उनले बताए । पार्धेका अनुसार भागेको जरायोलाई लखेट्दै जाँदा अत्तालिएर एक स्थानीयको घरको कोलियाभित्र पसेपछि त्यहाँबाट नियन्त्रणमा लिइएको हो । ‘डार्ट’ प्रयोग गरेको करिब दुई घण्टापछि मात्र नियन्त्रणमा लिन सकिएको उनले बताए ।

करिब १५० किलोको भाले जातिको उक्त जरायो कसैले घरमा पालेको हुनसक्ने पार्धेले बताए । “कसैले घरमा पालेको जरायो हुनसक्छ, हेर्दा घरमा पालेको जस्तो देखिन्थ्यो, घरबाट फुस्केर बाहिर निस्केपछि कुकुरले लखेट्दै ल्याउँदा खाडलमा खस्यो ।,” उनले भने, “करिब १ सय ५० किलोको सो जरायो भाले जातिको हो ।”

‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको उक्त जरायोलाई शनिबार नै राप्तीसोनारी ८, ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको सहायक वन डिभिजन अधिकृत पार्धेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बैजनाथमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम

१० मंसिर २०८०, आईतवार १२:५१
नेपालगञ्ज : बाँकेको बैजनाथमा नेकपा एमालेले जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम शुरुवात गरेको छ । बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य रत्न खत्री र आम जनताबीच प्रत्यक्ष अन्तरक्रिया हुने गरि एमालेले आईतबार चिसापानीबाट यो कार्यक्रमको शुरुवात गरेको हो । कार्यक्रममा प्रदेशसभा सदस्य खत्रीले निर्वाचनको समयमा जनताबीच गरिएका प्रतिवद्धता कार्यान्वयन […]