सदरलाइनडटकम,
काठमाण्डौ : आफन्तबाटै भारतको वेश्यालयमा बेचिएकी एक नेपाली बालिकाको ८ वर्षपछि उद्धार भएको छ । पीडितको उजुरीपछि मानव बेचबिखन अपराध अनुसन्धान ब्युरोले नुवाकोटकी ५० वर्षीया सुनिता तामाङलाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार २०६८ सालमा काठमाण्डौको एक होटलमा काम गरिरहेकी बालिकालाई सुनिताले गाउँमा लगेर पढाई दिने भन्दै नसालु पदार्थ खुवाएर भारत पुर्याएकी थिइन् । भारतमा लगेर सुनिताले ती बालिकालाई १० हजार भारतीय रुपैयाँमा बेचेको ब्युरोले जनाएको छ । त्यसपछि वेश्यालयले बालिकालाई ग्राहकसामु वयस्क देखाउन सुई र औषधी प्रयोग गरेका थिए ।
ब्युरोका अनुसार ती बालिकाले भारतको नयाँ दिल्लीस्थित तीन वटा कोठीमा काम गर्नु परेको थियो । ती बालिकाका ग्राहक बनेर गएका एक नेपालीले उनको उद्धारमा सहयोग गरेको प्रहरीको दावी छ ।
