काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनले राजावादीहरूको असलियत छर्लङ्ग भएको बताउदै हिंसात्मक कार्य गर्ने र उक्साउने दुवैलाई कारबाही हुनुपर्ने कुरामा जोड दिएका छन् ।
हिजो तीनकुने क्षेत्रमा सुरक्षा निकायको संयमताले राजावादीहरूको असलियत उदाङ्गिएको महासचिव पोखरेलको धारणा छ । आन्दोलनको नाममा नियोजित रूपमा भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उनको माग छ ।
‘आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकाहरूलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक छ, जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउनु आवश्यक छ’, नेता पोखरेलले भने ।


एमाले महासचिव पोखरेलले राजावादीलाई अब पनि नेपाली जनतालाई गुमराहमा राख्ने सपना नदेख्न आह्वान गर्दै आजको युग जनचेतनाले भरिएको लोकतन्त्रको युग भएको स्पष्ट पारे । ‘कसैको निहित स्वार्थ, प्रतिशोध वा दुराशयबाट आजको नेपाली समाज प्रभावित हुँदैन भन्ने सन्देश पुनः दिनुपर्ने भएको छ’, पोखरेलले भने ।
हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भएकामा विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रहेको भए पनि कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रहेकोले यसबाट राजावादी र लोकतन्त्रवादीको पहिचान स्पष्ट भएको पोखरेलको धारणा छ ।
‘राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिरोधात्मक, अराजक रह्यो, व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ, त्यसमा राजावादीहरू पूर्णतः असफल भए, बरु उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो’, पोखरेलले भने । हिजोको घटनामा जीवन गुमाएकाहरू प्रति उनले श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।