काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगायो

सदरलाइन संवाददाता १४ चैत्र २०८१, शुक्रबार १८:४७
 

काठमाडौंँ :  राजाबादीहरुको आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज (शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।

प्रशासनले काठमाडौँको गौशालादेखि एअरपोर्ट, गैरीधारा तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटीपुलसम्म कर्फ्यूको क्षेत्र निर्धारण गरेको छ ।

यसैगरी, कोटेश्वरबाट बालकुमारी पुलसम्म र बानेश्वर चोकदेखि शंखमुल चोकसम्म पनि कर्फ्यू लागेको छ । साथै गौशाला चोकदेखि पुरानो वानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि स्थानीय प्रशासनले कर्फ्यू लगाउने आदेश दिएको छ ।

दुर्गा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि प्रशासनले कर्फ्यू लगाउनु परेको हो ।

तीनकुने क्षेत्रमा प्रदर्शनकारीले व्यक्तिको घर तथा पसल लगायतका भवनहरुमा आगजनी सुरु गरेसंगै दिउँसोदेखि नै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सामाजिक सञ्जालमा देख्न सकिन्छ ।


यसैगरी काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेको छ ।

शुक्रबार पूर्वराजाका समर्थकहरुले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

यसअघि समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए भने पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड र आगजनी गरेका थिए ।

त्यस्तै, पेरिसडाँडा क्षेत्र अहिले पनि तनावग्रस्त छ । प्रदर्शनकारीहरूले नेकपा (माओवादी केन्द्र)को कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् ।

यसैगरी, नेकपा (एमाले)को पार्टी कार्यालयमा प्रहरी सुरक्षा तैनाथ गरिएको छ ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यात्रा !

१४ चैत्र २०८१, शुक्रबार १८:४७
एक्लै हिड्न मजा आउँछ उद्देश्य अनुसारका मार्ग खुल्छन अप्ठ्यारा मार्ग होउन् पहाड ठडिउन् लक्ष्यमा हिड्दा अवश्य पुग्छन् ! तेर्सो समथल मार्ग हुँदैन यात्रा ठाडो उकालो मार्गमा सामना गर्नुपर्नेछ ! सहज सरल सहयात्री मात्र हुँदैनन् यहाँ करनि र कथनिसंग सामना गर्नुपर्नेछ ! शिखर सुख्खा मरुभूमि गाउँ शहर जुनसुकै पथ होस् भेडो […]

ताजा अपडेट