सदरलाइनडटकम,
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मंगरु थारुको मृत्यु भएको हो ।
निकुञ्जस्थित गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए । थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए ।
हात्ती लिएर जंगल पसेका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।
