बाँकेसहित लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै

सदरलाइन संवाददाता २५ चैत्र २०७९, शनिबार १६:११
 

नेपालगञ्ज : गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन ६ वटा सोलार विद्युत् आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न लागिएको सो समूहले जनाएको छ ।

बाँकेको खजुरा गाउँपालिका ८ घिया गाउँमा निर्माण गरिएको सोलार विद्युत् आयोजनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै गोल्याण समूहका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बाँकेको एउटा आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको र अर्को आयोजनाबाट १० मेगावाट विद्युत् निकाल्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।

उनले सोही प्रकारले दाङ जिल्लाको सतबरियामा निर्माणाधीन दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने तथा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पनि दुईवटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको बताए ।

उनले बाँकेका दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत उत्पादन भइसकेको जनाउँदै सरकारले समयमै विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने हो भने आगामी डेढ वर्ष भित्रै थप ४० मेगावाट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताए ।

दाङ र कपिलवस्तुमा रहेका चारवटै आयोजनाका लागि सरकारबाट विद्युत खरिद सम्झौता (पिपिए) गर्न ढिलाइ भइरहेकाले काम तीव्र गतिमा अगाडि बढ्न नसकेको जनाउँदै प्रमुख कार्यकारी अधिकृत अर्यालले चन्द्रौटामा ४४ बिघा जग्गा खरिद गरेर अन्य काम शुरु गरिसकेको र दाङमा जग्गा खरिद प्रक्रियामा रहेको बताए ।


विद्युत खरिद सम्झौता (पिपिए) गर्न सरकारलाई आग्रह गरिएको जनाउँदै निजीक्षेत्रले छिटो काम गर्न खोजे पनि सरकारी निकायको तर्फबाट हुने ढिलाइले समस्या हुने गरेको गोल्याण समूहले जनाएको छ ।

अबको ८ वर्षमा सो समूहले जलविद्युत् र सोलार विद्युत आयोजनाबाट ८ सय भन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्ने गरी विभिन्न १४ वटा आयोजनामा काम गरिरहेको समूहका प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

गोल्याण समूहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरिरहेकोमा १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने १० मेगावाट दुई महिनाभित्र जोडिनेछ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिएको १० मेगावाटको परीक्षण सफल भएको आयोजनाका प्रमुख शिवि यादवले बताए । उनले परीक्षण सफल भएको जनाउँदै करिब दुई सातापछि प्रसारण नियमित हुने बताए ।

यसैबीच, खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले सो आयोजनाको निरीक्षण गरेका छन् । निरीक्षणपछि बोल्दै उनले यो बाँकेका लागि गौरवको आयोजना भएको जनाउँदै यसलाई स्थानीय सरकारले हरेक प्रकारको सहयोग गर्ने बताए ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर माधव अधिकारीले पश्चिम नेपालको बाँकेलगायतका स्थानमा सौर्य ऊर्जाको राम्रो सम्भावना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस बाँके क्षेत्रनं.१ क्षेत्रीय कमिटी बिस्तार विज्ञप्तीसहित

२५ चैत्र २०७९, शनिबार १६:११
कोहलपुर (बाँके) :  नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको सल्लाहकार, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र विभिन्न शाखा प्रमुख एवं शाखा सदस्यहरुमा देहाय बमोजिमका रहने गरी मनोनयन गरिएको छ । क्षेत्रीय सभापति पोषण केसीद्वारा शनिबार जारी विज्ञप्तीमा नेपाली काँग्रेसको बिधान २०१७ (संशोधन सहित) तथा नेपाली काँग्रेसको नियमावली २०७६ […]

सम्बन्धित