सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश नं. ५ की कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशको कृषिमा क्रान्ति ल्याउनका लागि ‘ग्रिन फोर्स’ तयार गर्न लागेको बताएकी छन् । जिल्लास्तरीय अगुवा च्याउ उत्पादक कृषक भेलाको मंगलवार नेपालगञ्जमा उद्घाटन गर्दै उनले वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमै रहेर कृषि क्षेत्रमा आकर्षित गर्नका लागि ‘ग्रिन फोर्स’को योजना अघि सारिएको बताइन् ।
उनले बैदेशिक रोजगारले आर्थिक भन्दापनि बिकृति बढी नित्याएकोले युवालाई आफ्नै गाउँठाउँमा रोजगारी दिने उद्देश्यले ग्रिन फोर्स तयार गर्न लागिएको जानकारी दिइन् । मन्त्री पौडेलले पछिल्लो समय राज्यले दिने अनुदानको विषयमा निक्कै टिकाटिप्पणी हुन थालेपछि आफ्नो मन्त्रालयले उत्पादनको आधारमा कृषकलाई अनुदान दिईने नीति बनाउन लागेको खुलासा गरिन् ।
उनले च्याउ उत्पादक किसानको उत्पादनलाई बजारीकरणका लागि प्रदेश सरकारले चिलीङ्ग भ्यानसमेतको व्यवस्था गर्ने तयारी गरेको बताइन् । च्याउ उत्पादक किसान महासंघ प्रदेश नं. ५ का अध्यक्ष केवल प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा च्याउ उत्पादन क्षेत्र तोकेर च्याउको बजारीकरणलागयतका लागि मन्त्री पौडेललाई १७ बुँदे मागपत्रसमेत बुझाईएको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, च्याउ उत्पादक किसान संघ केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारी, महासचिव सन्तोष कार्की, रुपन्देही अध्यक्ष गंगाधर शर्मालगायतले आफुले भोग्नु परेको समस्याबारे जानकारी गराएका थिए । बाँकेमा मात्र विभिन्न समुह र निजी गरी ३४ वटा व्यावसायिक च्याउ उत्पादन कृषि फर्म सञ्चालित छन् ।