संसद विघटनविरुद्धको रिटमाथि शुक्रवार सुनुवाई हुँदै

सदरलाइन संवाददाता १० पुष २०७७, शुक्रबार ०८:१४
 

काठमाण्डौ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुने भएको हो ।

प्रधानन्यायाधीश जबराको एकल इजलाशले अन्तरिम आदेश नदिइ बुधबार सुनुवाई भएका १२ सहित थप एक रिटको एक साथ संवैधानिक इजलाशमा सुनुवाई गर्ने निर्णय गरेको थियो । शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।

यसअघि गएको बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, रिट निवेदक चार सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गरेका थिए ।


वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाएका हुन् ।

प्रधानन्यायाधीश राणाले संविधानको धारासँग सम्बन्धी भएकाले संवैधानिक प्रश्न रहेको भन्दै पूर्ण बृहत इजलाश नभई संवैधानिक इजलाशकै क्षेत्राधिकारभित्र पर्ने बताएका थिए ।

वकिलहरुले भने यसअघि २०४७ को संविधान अनुसार संसद विघटन हुँदा संवैधानिक इजलाशसहितको बृहत इजलासमा सुनुवाई भएकाले अहिले पनि सोही अनुसार गर्न माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन् । त्यसपछि विघटनको विरुद्धमा सर्वोच्चमा रिट परेका हुन् भने आन्दोलन पनि भइरहेको छ । विघटनकै कम्पनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकता प्रक्रिया पूरा नहुँदै विभाजित भएको छ ।

Next Post

शुक्रवार विश्वभर क्रिसमस पर्व मनाइँदै

१० पुष २०७७, शुक्रबार ०८:१४
नेपालगञ्ज : प्रभु येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले शुक्रवार क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने गरेपनि यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउने गरेका छन्। येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा […]