बाँकेमा कृषिसम्बन्धी कार्ययोजना सार्वजनिक

३१ भाद्र २०७६, मंगलवार १९:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कृषि ज्ञान केन्द्र बाँकेले आगामी दिनमा सञ्चालन गरिने कृषि कार्यक्रमको कार्ययोजना सार्वजनिक गरेको छ । केन्द्रले आज एक कार्यक्रमका बीच बार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । स्थानीय तहसँग समन्वय गरेर कृषिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।
कार्यक्रममा बाँके र बर्दियामा सञ्चालन गरिने कृषि योजनाबारे जानकारी दिइएको थियो भने स्थानीय तहहरुमा रहेको कृषि शाखाले आआफ्नो कार्यक्षेत्रका लागि छुट्टयाईएको बजेट र कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश नम्बर ५ की भुमि, कृषि तथा सहकारी मन्त्री आरति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सार्वजनिकीकरण तथा समन्वय बैठकमा कृषि ज्ञान केन्द्रमार्फत बाँके बर्दियाका लागि १२ करोड ९० लाखको कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
दुबै जिल्लामा समानरुपले उक्त बजेट खर्च गरिने ज्ञान केन्द्रले जनाएको छ । यसैगरी बाँकेमा रहेको ८ वटा स्थानीय तहको कृषि शाखाको एकमुष्ठ बजेट हेर्दा ७ करोड ९९ लाख कृषि कार्यक्रमका लागि छुट्टयाइएको छ । बाँकेमा मात्र १४ करोड ४४ लाख बढि बजेट यस वर्ष कृषिको विकासका लागि ज्ञान केन्द्र र स्थानीय तहले छुट्टयाएका छन् ।
कृषि क्षेत्रका लागि कोहलपुर नगरपालिकाले भने अन्यभन्दा बढि बजेट छुट्टयाएको छ । कोहलपुरले कृषि शाखामार्फत १ करोड ५१ लाख बजेट विनियोजन गरेको छ भने जानकी गाउँपालिकाले १ करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले १ करोड १५ लाख, बैजानाथ गाउँपालिकाले १ करोड १० लाख, नरैनापुर गाउँपालिकाले ८० लाख ५० हजार, नेपालगञ्ज उपमहानगरपालिकाले ७४ लाख, खजुरा गाउँपालिकाले ७० लाख र डुडुवा गाउँपालिकाले ६४ लाख बजेट कृषि क्षेत्रमा छुट्टयाएको छ ।
कार्यक्रममा मन्त्री पौडेलले कृषि क्षेत्रमा बाँकेलाई उत्कृष्ट बनाउन सहकार्य र समन्वय गर्न सबैसँग आग्रह गरिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, राप्ती सोनारीका अध्यक्ष लाहुराम थारु, नरैनापुरका अध्यक्ष मो.इस्तियाक शाह, खजुराका कार्यबाहक अध्यक्ष एकमाया विक, कृषि निर्देशनालय प्रदेश नम्बर ५ का निर्देशक याम नारायण देवकोटा, आठ वटै स्थानीय तहमा कार्यरत प्रकाशकीय अधिकृत, कृषि शाखाका कर्मचारी, पत्रकारलगायतको उपस्थिती थियो ।

Next Post

बाँकेमा मुसलधारे बर्षात्

३१ भाद्र २०७६, मंगलवार १९:०२
सदरलाइनडटकम, नेपालगञ्ज : बुधवार बिहानैदेखि नेपालगञ्जलगायत आसपासका क्षेत्रमा जारी मुसलधारे बर्षातका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बिहान साढे बजेबाट पर्न थालेको पानी बढ्दै गएपछि नेपालगञ्जसहित आसपासका क्षेत्रहरु डुवानमा परेका छन् । झण्डै ३ घण्टा परेको मुसलधारे पानीले नेपालगञ्जको घरबारीटोल, न्यूरोड, सेतुबिक चौक, धम्बोजी चौकलगायतका क्षेत्रहरु जलमग्न भएका […]