२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

प्रतिष्ठानका उपकुलपतिको राजिनामा माग



सदरलाइनडटकम,
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजिनामा माग गरिएको छ । दाङको घोराहीमा शुक्रवार भएको सर्वपक्षीय भेलाले प्रतिष्ठानका उपकुलपति डाक्टर भण्डारीको कार्य असक्षमता देखिएकाले सम्बन्धित पक्ष समक्ष उनको राजिनामा माग गर्ने निर्णय गरेको छ ।
सामुहिक राजिनामा दिएर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सकहरुको माग सम्बोधन गरी उनीहरुलाई काममा फर्कने वातावरण बनाउन सम्बन्धित पक्षसँग आग्रह गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयप्रति संवेदनशील बन्न भेलाले माग गरेको छ । साथै भेलाले प्रतिष्ठानको विषयमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदै समस्या समाधानतर्फ लाग्न अपिल गरेको छ ।
भेलाले अधिकारकर्मी विकिरण गौतमको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ समिति गठन गरेको छ । जसको सदस्य सचिवमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन रहेका छन् ।
त्यस्तै समितिको सदस्यमा नागरिक समाज दाङका सचिव लक्ष्मी आचार्य, दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त जोशी, चेम्वरका निवर्तमान अध्यक्ष दीपक सुवेदी, चेम्वर घोराहीका अध्यक्ष मञ्जु वज्राचार्य, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाका अध्यक्ष शरद अधिकारी, घोराही १५ का अध्यक्ष रमेश पाण्डे, घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी, प्याव्सन दाङका अध्यक्ष यादव गिरी, थारु कल्याणकारिणी दाङका अध्यक्ष भुवन थारु, पत्रकार भुपेन्द्र ओली, टीका बस्नेत रहेका छन् ।
भेलामा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, स्वतन्त्रता सेनानी सुशील गौतम, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त जोशी, दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, घोराही उपमहानगरपालिका वडानम्वर १५ का अध्यक्ष रमेश पाण्डेलगायत जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि प्रतिष्ठानलाई प्रयोग गर्न नहुने बताएका थिए ।

प्रकाशित मिति : २०७६ भदौ ६ गते शुक्रबार
ताजा समाचार