सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएपछि सर्वसाधारण महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् । अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएपनि अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर भ्याक्सिन लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्यामप्रसाद थारुले बताए ।
स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. रुपानन्द अधिकारीले जानकारी दिए । साउनको शुरुवातदेखिनै अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएको हो । भ्याक्सिन बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि भ्याक्सिन ल्याउन ढिलाइ भएको भन्दै डा. अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने बताए ।


