सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शनिवारदेखि शुरु भएको छ । गाउँपालिका परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले वडा नं. ४ का ४६ जनाले वृक्षारोपण र सडक मर्मत सम्भारको काम गर्ने गरी रोजगार कार्यक्रम शुरु गरिएको जानकारी दिए ।
उनले छनौट भएका योजना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्य वडामा पनि विस्तार गरिने बताए । ६ वटै वडामा रोजगार कार्यक्रमको योजना बनिसकेकोले गाउँपालिकाभरीनै प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकामा ३ हजार जनाले रोजगारको लागि निवेदन दिएको रोजगार संयोजक सीमा चौधरीले बताए । उनका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको लागि जानकी गाउँपालिकामा ३१ लाख प्राप्त भएको छ ।