सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । खजुरामा रहेका ८ वटै वडामा १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेकाले खजुरालई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।
प्रदेश नं. ५ की भूमि व्यस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक समारोहका वीच साक्षर गाउँपालिका घोषणा गरिन् । साक्षर भएकोमा खजुराको सह्राना गर्दै उनले बाँके र कपिलवस्तु साक्षर भएपछि प्रदेश नं. ५ लाई साक्षर घोषणा गरिने बताइन् । साक्षर व्यक्ति समाजलाई योगदान दिने भन्दै मन्त्री पौडेलले शिक्षाले जीवनलाई उज्यालो पार्ने बताइन् ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाको साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ वर्षदेखि ६० वर्षसम्मका ३८ हजार ९०१ जनसंख्या रहेकोमा ३७ हजार ८१६ जना मानिस साक्षर रहेको बताए । अब पूर्णसाक्षर बनाउन अगाडि बढ्ने जनाउँदै उनले शिक्षाको मूलगेट खोल्ने काम साक्षरताले गर्ने बताए । खजुरा गाउँपालिकाको शैक्षिक अवस्थाबारे जानकारी दिँदै अध्यक्ष कक्षपतिले ३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय, १ सामुदायिक क्याम्पस, १ निजी क्याम्पस २ वटा प्राविधिक धारका नमूना विद्यालय सञ्चालन भइरहेको र निकट भविष्यमा विएससीएजीको पढाई हुने बताए ।
विभिन्न तहमा अध्ययन गर्ने करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा क्षेत्रलाई शैक्षिक हबको रुपमा समेत अगाडि बढाउन थालिएको उनले बताए । खजुरा गाउँपालिकाको समृद्धिको आधार ः हामी सबै शिक्षित भई पारौं साकार भन्ने मूल नाराका साथ घोषणा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसीले सोँच र चिन्तनमा परिवर्तन गर्न आवश्यक रहेको बताउँदै साक्षर अभियानले सामुदायिक सार्वजनिक क्षेत्रमा काम गर्न सहज हुने उल्लेख गरे ।
उपाध्यक्ष एकमाया विकले स्वागत गरेको कार्यक्रममा सबै वडाका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति संयोजक अजयकुमार श्रीवास्तव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, कर्मचारी, समाजसेवी, तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
खजुरामा वृक्षारोपण
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन खजुरा–३ बि गाउँमा वृक्षा रोपण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विकलगायतको वृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो ।
राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकामा रोजगारमा सहभागीले सहयोग गरेको खजुरा गाउँपालिका विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायले जानकारी थिए । सरकारले स्वर्गीय मदन भण्डारीको जन्म दिनको अवसर पारेर असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मानाउने निर्णय गरेको छ ।