नेपालगञ्ज कन्या माविबाट दादुरा–रुबेला खोप अभियान शुरु

सदरलाइन संवाददाता १३ फाल्गुन २०८०, आईतवार १४:२२
 

नेपालगञ्ज : बाँकेमा पनि दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । फाल्गुन ३० गतेसम्म चल्ने अभियानको नेपालगन्जस्थित कन्या माध्यमिक विद्यालयमा आइतवार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डा. शंकर केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्यरुपमा खोप लगाई दादुरा–रुबेला निवारणका लागि योगदान गर्न आग्रह गरेका छन् ।

बाँकेमा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । ९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई फाल्गुन ३० गतेसम्म दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनक गिरीले बताए ।

राप्तीसोनारीमा १८ हजार ६६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार १४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने स्वास्थ्य कार्यालयको लक्ष्य छ । ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने गिरीले बताए ।


त्यसका लागि १ हजार २९६ जना स्वास्थ्यकर्मी खटिएका छन् भने १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन भएका छन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा ६९ वटा खोप केन्द्र राखिएका छन् । ती खोप केन्द्रमार्फत खोप लगाउन ३६८ स्वास्थ्यकर्मी र ३६८ नै स्वयंसेवक परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।

यही अभियानका क्रममा ९ महिनादेखि ५ वर्षमुनिका नियमित खोप लगाउन छुट बालबालिकालाई पनि खोप लगाइने भएकाले खोप कार्ड लिएर खोप केन्द्रमा आउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलमपट्टीमा ६८ जनाले लिए निःशुल्क सेवा

१३ फाल्गुन २०८०, आईतवार १४:२२
नेपालगञ्ज : नेपालगञ्जस्थित मलमपट्टी क्लिनिकले आयोजना गरेको निः शुल्क शिविरमा ६८ जनाले सेवा लिएका छन् । खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरी आयोजना गरिएको शिविरमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका जिल्लाका विरामीले सेवा लिएको क्लिनिकका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिए । मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण […]