सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार ‘हाई भोल्टेज’ खेलमा भारत र पाकिस्तान आमने सामने हुँदैछन् । यद्दपि यो भेट भने कुनै नयाँ होइन । म्यानचेस्टरको मैदानमा आमने सामने हुन लागेका भारत र पाकिस्तानबीचको खेल जारी विश्वकपकै सर्वाधिक चासोको रुपमा हेरिएको छ । तर आइतवारको खेललाई भने मौसमले प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।
भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक खेलेका छन् । जसमा हरेक पटक भारत नै विजयी हुँदै आएको छ । विश्वकपमा भारतमाथि हावी हुन नसके पनि एक दिवसीय क्रिकेटमा पाकिस्तान नै भारतभन्दा अगाडि रहेको छ । भारत र पाकिस्तानको बीच अहिलेसम्म १३१ एकदिवसीय क्रिकेट खेल भएका छन् । जसमा पाकिस्तानले ७३ खेल जित्दा भारतले ५४ खेलमा मात्र बाजी मारेको छ । त्यस्तै ४ खेलमा नतिजाविहीन भएको छ ।
भारत र पाकिस्तानबीचको क्रिकेट सधैं फाइनल जस्तै हुन्छ । भारतले अहिलेसम्म २ पटक विश्वकप जितेको छ भने पाकिस्तानले एक पटक मात्रै विश्वकपको ट्रफी घर लगेको छ । भारत र पाकिस्तानका बीचमा राजनीतिक वातावरण धमिलो भएका बेला इंग्ल्याण्डमा हुन लागेको यो खेललाई दुवै देशका समर्थकले प्रतिष्ठाको विषय बनाएका छन् ।
आइतबार हुने प्रतियोगिताका लागि दुवै देशका सञ्चार माध्यमहरुले पनि आआफ्नै तरिकाले प्रचार गर्दा दुवै देशले एक अर्कालाई होच्चयाई रहेका छन् । भारत–पाकको आइतवार सातौं प्रतिस्पर्धा हुँदैछ । यो भिडन्तको नतिजा कस्तो आउला भनेर अनुमान गर्दैगर्दा पानीले खेल बिथोल्न सक्ने आँकलन पनि गरिएको छ ।
(एजेन्सी)