नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ माघ २०७७, सोमबार १४:२१
 

काठमाण्डौ : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिएका छन् ।

केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो ।

सोमबार ती नमूनाको रिपोर्ट आएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन ।


बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् ।

नयाँ प्रजातिको भाइरसको संक्रमण ह्वात्तै बढेपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ ।

Next Post

नेपालगञ्जबाट सहुलियत दरमा हुम्ला हवाई उडान

५ माघ २०७७, सोमबार १४:२१
नेपालगञ्ज : सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकोमा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो । नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु […]

सम्बन्धित