सदरलाइनडटकम,
भैरहवा : रुपन्देहीको गौतमबुद्ध विमानस्थल भैरहवाबाट हतियारसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत लखनउका ५० वर्षीय उमेश शुक्ला हतियारसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘मेड इन चेकोस्लोभाकिया’ लेखेको पेस्तोल र त्यसमा लाग्ने १६ राउण्ड गोलीसहित उनी पक्राउ परेको प्रहरीले बताएको छ ।
दिउँसो १ बजेको बुद्ध एअरबाट पोखरा जाने क्रममा उनको झोला विमानस्थलको एक्सरे मेशिनमा स्क्यान गर्दा पेस्तोल भएको पुष्टि भएपछि पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । शुक्लामाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


