२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

खजुरा गाउँपालिका साक्षर घोषणा नजिक



सदरलाइनडटकम, 
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो पालिका साक्षर उन्मुख भएको दाबी गरेका छन् । उनले आईतबार गाउपालिकाको वडानं. ५ र ६ लाई साक्षर वडा घोषणा गर्दै सो दाबी गरेका हुन ।
खजुरा गाउपालिकाले हालसम्म वडा नं. १ देखि वडा नम्बर ६ सम्म साक्षर वडा घोषणा गरि सकेको छ । अब २ वडा घोषणासंगै खजुरा गाउँपालिका साक्षर गाउँपालिका हुन बाँकी छन् ।
वडा नं. ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष साविर अलिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले ती वडा साक्षर घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष कक्षपतिले खजुरालाई शिक्षाको क्षेत्रमा नमूना बनाउन सबै वडा साक्षर गराउने तयारीमा रहेको बताए ।
वडा नं. ५ मा १५ वर्षदेखि ५९ वर्ष सम्मका ४ हजार ५७७ जना मध्ये ४ हजार ३९३ जना साक्षर रहेकोमा ९५ दशमलव ९८ प्रतिशत साक्षर भएकाले उक्त वडालाई साक्षर घोषणा गरिएको हो ।
त्यस्तै वडा नं. ६ मा पनि १५ वर्षदेखि ५९ वर्ष उमेर समूहको जनसंख्या ७ हजार ३५ जना रहेकोमा ६ हजार ८०९ जना साक्षर भई ९६ दशमलव ७८ प्रतिशत साक्षर भएको हुँदा सो वडालाई साक्षर घोषणा गरिएको
हो । साक्षर वडा घोषणा कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, कार्यपालिका सदस्य निसार अलि, भागीरथ सुनार, शिक्षा प्रमुख टिकानाथ गोसाई, शिक्षा समिति सदस्य ऋषिराम सापकोटा, भक्तबहादुर केसी, प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटा, शिक्षक महासंघ खजुरा अध्यक्ष केशवराज लामिछानेलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतबार
ताजा समाचार