माफी माग्दै अल्काले हटाइन् नेपालबारे विवादित ट्वीट

२८ फाल्गुन २०७५, मंगलवार १५:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : दिल्लीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छन् ।
अल्काले हटाएको ट्वीट यस्तो छ
मंगलबार बिहान गरेको ट्वीटको निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् । उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्देश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’
आम आदमी पार्टीकी नेतृ तथा दिल्ली विधानसभा सदस्य अल्का लाम्बाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दा नेपाल र नेपाली नागरिकप्रति आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । उनले ट्विटरमा मोदीलाई कटाक्ष गर्दै लेखेकी थिइन्, ‘प्रिय, भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए । मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।
अल्का लाम्बा लामो समय भारतीय कांग्रेसको विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय रहेकी थिइन् । उनी सन् २०१४ मा कांग्रेस परित्याग गरी आम आदमी पार्टीमा आवद्ध भएकी थिइन् । सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक सिटबाट निर्वाचित भएकी थिइन् ।
(एजेन्सी)

Next Post

जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

२८ फाल्गुन २०७५, मंगलवार १५:४५
सदरलाइनडटकम, हेटौडा : भक्तपुरबाट हेटौँडाका लागि गएको बस मकवानपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मंगलवार भएको दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जन्ती बोकेको बस मकवानपुरको गढी गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा दुर्घटनामा परेको हो । ना […]

सम्बन्धित