रुकुम र बैतडीमा हिमपात

२३ पुष २०७५, सोमबार १४:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : रुकुम पूर्व र रुकुम पश्चिमका लेकाली भेगमा हिमपात भएको छ । आइतवार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै वर्षात भएपछि हिमपात भएको हो । आइतवार दिउँसोदेखि लेकाली भेगमा हिमपात र औल क्षेत्रमा वर्षात भएको थियो ।
रुकुम पूर्वका हुकाम, मैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिंग, सेपेलगायतका क्षेत्रमा अधिक हिमपात भएको छ भने रुकुम पश्चिमका किटनी, जन्तिबसे लेक, मौराखारा, स्याजे, बल्लेजुरा, मौराखारालगायतका लेकमा हिमपात भएको छ । हिमपातका कारण त्यहाँका लेकाली भेग सेताम्य भएका छन् । हिमपातका कारण अत्याधिक चिसो भएपछि रुकुम पूर्वको जनजीवन कष्टकर भएको छ ।
चिसोका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । चिसो बढेपछि गाईबस्तुलाई घाँसपात खुवाउन, जंगलमा बस्तुभाउ चराउन समस्या हुनुका साथै काठदाउरा ल्याउन समेत गाह्रो भएको स्थानीयवासीले बताएका छन् । औल क्षेत्रमा वर्षा र लेकाली क्षेत्रमा हिमपात हुँदा चिसो बढेको हो ।
किसान खुशी
हिमपातसँगै वर्षात भएपछि गहुँ, जौ तथा तरकारी बाली सप्रिने आशामा किसानहरु उत्साहित भएका छन् । यो वर्ष जिल्लामा यो पहिलो पटक हिमपात भएको हो । अहिलेसम्म वर्षा नहुँदा हिउँदेबाली गहुँ–जौ सुक्न थालेपछि चिन्तित किसान वर्षाले खुशी भएका छन् ।
हिमपातसँगै परेको पानीले लगाएको फलफूल खेती, खाद्यन्न तथा तरकारी बाली राम्रो हुने मुसिकोट नगरपालिका रुकमु पश्चिमका कृषि इकाई प्रमुख मनोज पोखरेलले बताए ।



सुदूरपश्चिका उच्च भागमा पनि हिमपात
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । गएरातिदेखि हिमपात शुरु भएको हो । हिमपात भएसँगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
लामो समयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुशी भएका छन् । हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुशी भएका हुन् । हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

Next Post

पाटेबाघको छालासहित दुई पक्राउ

२३ पुष २०७५, सोमबार १४:५५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : पाँच नंम्बर प्रदेश प्रहरीको प्रदेश अनुसंधान ब्यूरोबाट खटेको टोलीले दुर्लभ पाटेबाघको छाला, अंङ्ग र हड्डीसहित बाँकेको कोहलपुर बसपार्क नजिकैबाट दुईजनालाई नियन्त्रणमा लिएर अनु्संधान सुरु गरेको छ । प्रहरी निकट स्रोतका अनुसार पाटेबाघको छाला हड्डी सहित गगनपानी गाउपालिका वडा नं २ का वर्ष ३६ को कमल खत्री […]

सम्बन्धित