२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपालगञ्जमा धुमधामका साथ मनाईयो होली



सदरलाइनडटकम,
नेपालगञ्ज : रंग र उमंगको पर्वको रुपमा रहेको होली पर्व बाँकेमा पनि धुमधामका साथ मनाईएको छ । नेपालगञ्जमा विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाएका हुन ।
नेपालगञ्जका विभिन्न स्थानहरुमा डिजेसहित आयोजना गरिएको होलीमिलन कार्यक्रममा युवायुवतीहरु रंग अविरको रंगिन परिवेषमा झुम्दै होलि पर्व मनाईएको थियो । सामाजिक सञ्जाल ‘नेपालगञ्ज ग्यालरी’ले आयोजना गरेको होलिमिलन कार्यक्रम विशेष युवाहरुको आकर्षणको केन्द्र बनेको थियो ।
यसैगरी सेतुविक चोक, त्रिबेणी मोड, बसपार्क, त्रिभुवन चोक लगायतका ठाउहरुमा विभिन्न सांस्कृतीक कार्यक्रमका साथ होलि खेलिएको थियो ।
उप–महानगरपालिकाका उपमेयर उमा थापामगरले लायन्स क्लवले आयोजना गरेको होलि मिलन कार्यक्रममा समाजिक सद्भावको पर्वको रुपमा होलि मनाउन आग्रह गर्दै भनिन–‘बाँकेको नेपालगन्ज बहु धार्मिक तथा बहु सास्कृतिक सभ्यता भएको ठाँउ हो सबैको पर्व र संस्कृतिको सम्मान गर्दै होली मनाउन आग्रह गर्छु ।’
यसैगरी लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि–२का पूर्व डिस्टिक गर्भनर सेम शाक्यले रंग र खुसीको संगमको रुपमा होली पर्व मनाउन आग्रह गरे । उनले एकले अर्कोको सम्मान गर्दै समाजिक र भाईचारा कायम हुुने भएकोले होलीले सबैलाई जोड्ने दाबी गरे ।
लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि–२का पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्माले होली सम्बन्ध जोड्ने पर्वको रुपमा लिदै पछिल्ला दिनहरुमा पर्वमा विभिन्न खालका बिकृतिले स्थान पाउन थालेको भन्दै बिकृति हटाउदै आफ्नो संस्कृति मनाउनुु पर्ने सुझाव समेत दिए ।
यसैगरी बाँकेमा बसोबास गर्ने अछामी समाजले दुई दिनदेखि डेउडासहितको होली पर्व मनाईएको अछामि सेवा समाजका अध्यक्ष टेक बहादुर खड्काले जानकारी दिए । उनले पछिल्लो पुस्तालाई आफ्नो संस्कृति र रहन सहन बारे जानकारी गराउने उद्देश्यले डेउडा सहितको होली मनाईको बताए । दुईदिनसम्म मनाईएको होलीमा डेउडा गायिका पानसराकुमारी थापा, तुलसीकुमारी थापा र पुष्पा कुमारी बुढाले डेउडा गाएका थिए ।
यसैगरी बाँकेका पत्रकारहरुले पनि सामुहिक रुपमा होली खेलेर होलि मनाएका छन् । प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले नेपालगन्जमा संयुक्त आयोजना गरेको होलि मिलन समारोहमा बाँकेका पत्रकारले पनि पर्वलाई पर्वकै रुपमा मनाउन आग्रह गरे ।
हिन्दू समुदायमा खुसी र उमंगको पर्वको रुपमा मनाईने होलीपर्व एकआपसमा रंग अविर दलेर मनाउने चलन रहेको छ । नेपालमा पहाड र तराई गरी दुई दिनसम्म मनाईने प्रचलन रहेपनि मिश्रित बस्तीको रुपमा रहेको नेपालगन्जमा दुबै दिन होली खेल्ने प्रचलन रहेकोमा दुबै दिन होली खेलिएको थियो ।    

प्रकाशित मिति : २०७५ चैत ७ गते बिहीबार
ताजा समाचार