सदरलाइनडटकम,
नेपालगञ्ज : प्रथम नरैनापुर दौड–२०७५को तयारी अन्तिम चरणमा पुगेको छ । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकासको लागि दौडको आयोजना गर्न लागेको हो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउपालिका क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने उद्देश्यले नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको बताए । उनले भने–‘नरैनापुर गाउँपालिकामा यो दौड पहिलो पटक हुुन लागेकोले यस दौडलाई सबै मिलेर सफल बनाउन मेरो आग्रह छ ।’
दौड प्रतियोगितामा त्यस क्षेत्रकायुवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवीलगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेतले यस दौड प्रतियोगिताले नरैनापुरक्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासनसहितको सचेतना अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ७ हजार, दोस्रोलाई रु ५ हजार र तेस्रो हुनेलाई रु ३ हजार नगद पुरस्कार प्रदान गरिने र आगामी बर्षहरुमा पनि निरन्तरता दिने र पुरस्कार राशी पनि बृद्धि गरिने गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाको वार्ड नं. १ सुईया सिमानाकादेखि शुरु हुने दौड नरैनापुर गाउँपालिकामा पुगेर समापन हुने कार्यक्रम संयोजक रविन्द्र कुुमार ज्ञवालीले जानकारी दिए ।