नेपालगञ्ज : फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने जनाएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको सम्पन्न २९औं जिल्ला सभामा अस्पतालले थप विशेषज्ञता सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
नेपाल नेत्र ज्योति संघ बाँकेद् ३६ वर्ष अघि स्थापित अस्पतालले अन्धोपन निवारणका लागि उपचार लगायत सेवा प्रदान गर्दै आएको छ । जिल्ला सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव शान्ति श्रेष्ठले अहिलेसम्म २५ लाख बढीलाई सेवा प्रदान गरिएको भन्दै भावी कार्यक्रम र योजनाबारे पनि जानकारी दिए । नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतन कुमार टण्डनले भौतिक विकासँगै समयसापेक्ष चिकित्सा सेवा पनि विस्तार गरिने विश्वास दिलाए ।
अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले अन्धोपन न्यूनीकरणका लागि निवारणात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई सँगै लगिने प्रतिवद्धता व्यक्त गरे । अस्पतालले सर्जिकल रेटिना, कर्निया, ग्लुकोमा लगायतका सेवा शुरु गर्ने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अस्पतालले सम्वद्ध निकाय र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा थप सेवा प्रवाह गर्न सुझाव दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आँखा अस्पतालसँगको सहकार्यमा उपमहानगरपालिकामा निःशुल्क आँखा शिविर शुरु गरिएको भन्दै थप प्रभावकारी बनाइने बताए ।
सभामा नेपाल रेडक्रस सोसाइटी शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, दानवीर जयकेश सिंह, काँग्रेस बाँके सचिव सुधान्शु कोइराला, नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रेम शाह लगायतले अस्पतालको सेवा, प्रगतिको प्रशंसा गरेका थिए । अस्पतालका लेखा अधिकृत जीत बहादुर थारुद्वारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य केशवराम बर्माले गरेका थिए ।