विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार नेपालगञ्ज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउदै विजयी सुरुवात गरेको हो ।
आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे । जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग बैशाख ९ गते खेल्नेछ । पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।
खेलको ‘प्लेयर अफ दि म्याच’ अनिता घोषित भइन् । खेलको चौथो मिनेटमै अनिताले आर्मीलाई दिलाइन् । विमला विकको फ्रिकिकलाई सुदूरपश्चिमकी गोलकिपर सुनौना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा अनिताले लिँदै सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् । आर्मीले ५१औं मिनेटमा दोस्रो गोल थप्यो । अनिताले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् । पुर्णिमा टाडीले १८ यार्ड बक्स नजिकै ह्यान्ड गरेपछि रेफ्री कृति शेनले आर्मीलाई फ्रिकिक अवसर दिएकी थिइन् ।


चार मिनेटपछि नै आर्मीले तेस्रो गोल गर्यो । यसपटक शर्मिला थापाले मिलाएको बललाई अगाडी बढाउँदै हेमाले पेनाल्टी क्षेत्रबाट गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्याएकी थिइन् । वैकल्पिक खेलाडी तुलसाले गोल गर्दा ७७ औं मिनेटमा आर्मीले अग्रता ४–० को बनायो । सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई तुलसाले बक्स बाहिरबाटै सानदार गोल गरिन् ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा पहिलो पटट भइरहेको लुम्बिनी कपमा आठ टोली सहभागी छन् ।