नेपालगञ्जमा घुम्ती शौचालयद्वारा सेवा शुरु

९ माघ २०७५, बुधबार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा बुधवारदेखि घुम्ती शौचालय सञ्चालनमा ल्याइएको छ । नगर क्षेत्रको अति व्यस्त ४ वटा स्थानमा रहने गरि उपमहानगरपालिकाले चारवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।
५९ लाख लागतको सार्वजनिक शौचालय हाल गणेशपुर बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक नजीक राखिएको छ । नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक अरुण पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले रिवन काटेर संयुक्तरुपमा उद्घाटन गरेपछि शौचालय गन्तव्यतर्फ पठाइएको थियो ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाललगायतका वडा अध्यक्ष, नागरिक समाजका अगुवा, पत्रकारको उपस्थितीमा नगर प्रमुख राणाले निरन्तरको प्रयासपछि सञ्चालनमा ल्याइएको घुम्ती शौचालयको सहज सञ्चालन, उपभोग र व्यवस्थापनमा सबैको साथ आवश्यक रहेको बताए । व्यस्त शहर नेपालगञ्जमा पर्याप्त सार्वजनिक शौचालय अभावमा भोग्नु परेको सास्तीलाई सम्वोधन गर्दै उपमहानगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए ।
सहजै एक ठाउँबाट अर्को ठाउँ लैजान सकिने आधुनिक शौचालयमा एकै पटक ८ जनाले प्रयोग गर्न सक्छन् । घुम्ती शौचालय सञ्चालनपछि सार्वजनिक शैचालयको अभावलाई कम गर्नुका साथै नगरको सरसफाईमा समेत मदत पुग्ने विश्वास गरिएको छ । तीन महिनाका लागि भ्याटसहित ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई घुम्ति शौचालय सञ्चालनको जिम्मेवारी दिइएको छ । सञ्चालन खर्चको लागि उपभोक्तासँगै पेशाव गरेवापत ५ र दिसा गरेवापत १० रुपैयाँ शुल्क लिइने भट्टले जानकारी दिए ।

Next Post

मेयर कप फुटबलमा युनाइटेड र ब्रिज विजयी

९ माघ २०७५, बुधबार १७:४६
सदरलाइनडटकम, नेपालगञ्ज : धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा चलिरहेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा युनाइटेड एजुकेशनल र ब्रिज इन्टरनेशनल स्कूल विजयी भएका छन् । बुधवार भएको पहिलो खेलमा युनाइटेडले दीपज्योति विद्याश्रमलाई ३–२ गोलले पराजित गर्यो । युनाइटेड स्कूलबाट सुशान्त थापा, प्रेमबहादुर सुनार र विकास बस्नेतले गोल गरेका थिए । […]