संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित

सदरलाइन संवाददाता २४ पुष २०८०, मंगलवार १४:५४
 

दाङ : पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

शान्तिनगर गाउँपालिका–५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु भेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउँछन् । चौधरीले थारुको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच र सख्या नाच नाच्न सिकेकी छन् ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैनथ्यो,” उनले भनिन, “तर अहिले सहज हुँदै गएको छ । आफ्नो जातिगत भेषभूषा र पहिरनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै चौधरीलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लेहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिन मन लाग्ने गरेको छ ।

आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको चौधरीले बताइन् । विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभासम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० की अनिता चौधरीे बताउँछिन् । अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्छिन् ।


“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेकी छु”, उनले भनिन, “कला सस्कृतिका बारेमा ज्ञान पाइनुका साथै आम्दानीसमेत हुने गरेको छ ।” पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो भेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो भेषभूषा र परिहनमा सजिएर नाचगान गर्ने तथा पाहुनाको स्वागतमा उनीहरु खटिने गर्छन् ।

यो क्रम बढ्दै गएको छ । घोराही–११ वनघुस्राका रामप्रसाद चौधरी आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकास गर्न युवा पुस्ता अग्रसर भएको बताए । “थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, उनले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुगेको छ ।”

थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गिबिरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । थारु कला संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणको व्यवस्था हुनुपर्ने चौधरी बताउनुहुन्छ । थारु समुदायको विभिन्न बाजा संरक्षणका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

९२ ई–रिक्सा अझै पनि नेपालगञ्ज उपमहानगरको कब्जामा

२४ पुष २०८०, मंगलवार १४:५४
नेपालगञ्ज : ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगञ्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्साले नेपालगञ्ज नगरपालिकाले पछिल्लो समय कारबाही गरिरहेको छ । जसअन्तर्गत […]