सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित नेपालगञ्जमा दुई जना युवा पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट नेपालगञ्ज आउँदै गर्दा नेपालगञ्ज वडा नं. ९ बस्ने आशिष हास्मी र वडा नं. १० बस्ने गुरुप्रसाद लागुऔषधसहित बुधवार अपरान्ह ४ बजे पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४ सय २५ ट्याब्लेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयपुरका प्रहरी नायब निरीक्षक इन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले हासमीको साथबाट २ सय ७० ट्याब्लेट नाइट्रोभेट र ६५ ट्याब्लेट स्पासमो बरामद गरेको छ भने गुरुप्रसादको साथबाट ९० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए ।


