सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दुहरुका महान चाड दशैँलाई लक्षित गरि नेपालगञ्जमा ‘दशैँ सस्तो बजार’ सञ्चालन गरिने भएको छ । नेपालीहरुको ठूलो चाडपर्वलाई लक्षित गरि नेपालगञ्जका ब्यापारील सर्वसाधारणका लागि ‘दशैँ सस्तो बजार’ सञ्चालन गर्न लागेका हुन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको प्रवद्र्धनमा नेपालगञ्ज वितरक संघले उपभोक्ता जागरणका लागि बागेश्वरी मन्दिरको पूर्व चिल्ड्रेन पार्कमा असोज २४ देखि ३० गतेसम्म ‘दशैँ सस्तो बजार’ सञ्चालन गरिने वितरक संघका अध्यक्ष अमितकुमार बस्नेतले बताए ।
‘स्वदेशको पूञ्जी स्वदेशमै खर्च गरौँ, खुशी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा सहभागी बनौँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको बजारमा स्वेदेशी उत्पादन र बजारलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको उनले बताए । भारतीय बजारको तुलनामा नेपालगञ्जमा सस्तो र गुणस्तरीय सामान पाइने बताउँदै बस्नेतले सस्तोको नाममा गुणस्तरहीन सामग्री नेपाली ग्राहकले खरिद गर्दै आएको दावी गरे ।
नेपालगञ्ज वितरक संघका संस्थापक अध्यक्ष ललित रौनियारले भारतीय बजारमा सस्तोमा सामान पाइने नेपाली ग्राहक भ्रममा परेको बताए । उनले भारतीय बजारका ब्यापारीले सस्तो दिएको नाममा नेपाली ग्राहकलाई गुणस्तरहीन र अखाद्य बस्तु भिराउने गरेको जानकारी दिए ।
दाल, चामललगायतका सामान भारतभन्दा नेपालमै सस्तो पर्ने बताउँदै रौनियारले ‘दशैँ सस्तो बजार’मा बहुराष्ट्रीय कम्पनीले उत्पादन गरेका घरायसी सामानसमेत राखिने जिकिर गरे ।