पितृको सम्झनामा सोह्रश्राद्ध मनाईंदै

९ आश्विन २०७५, मंगलवार ०९:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : पितृपक्ष अर्थात् सोह्रश्राद्ध मंगलवारबाट शुरु भएको छ । हिन्दु धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृहरूको सम्झना गरेर मनाउँछन् । श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्याइन्छ । यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ ।
पञ्चाङ निर्णायक समितिबाट स्वीकृतिप्राप्त पात्रोहरूमा मंगलवार पूर्णिमा तिथि उल्लेख भएपनि प्रतिपदा तिथि मंगलवारनै लाग्ने भएकोले प्रतिपदा श्राद्ध गरिँदैछ । वैदिक पात्रोमा भने मंगलवार पूरै दिन प्रतिपदा उल्लेख छ ।
यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ । मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई सम्झिने गरिन्छ ।
आमाबाबु नहुने यो पक्षभरि नियममा बसेर एक तिथिमा श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।

Next Post

कञ्चनपुरको जंगलमा युवतीको बेवारिसे शव फेला

९ आश्विन २०७५, मंगलवार ०९:१९
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरमा एक युवतीको बेवारिसे शव भेटिएको छ । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जंगलमा सोमवार बेलुकी २६ वर्षीया युवतीको बेवारिसे शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । धनगढीस्थित सेती अञ्चल […]